एमाले केन्द्रीय कमिटी बैठक शुरू, नेपाल पक्ष अनुपस्थित
नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शुरू भएको छ।
च्यासलमा शुरू भएको केन्द्रीय कमिटी बैठकलाई १०औं भनिएको छ। २ जेठ २०७५ मा नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुनुअघि नौ वटा बैठक भएका थिए। आज १०औं केन्द्रीय कमिटी बैठक भनिएको छ।
गत २३ फागुनमा सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी ब्युँतिएपछि अध्यक्ष ओलीले चार वटा केन्द्रीय कमिटी बैैठक राखेका थिए। जसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको थिएन। ती बैठकलाई मान्यता नदिएर आज १०औं बैठक राखिएको एमालेले जनाएको छ।
आजको बैठकमा पनि नेपाल पक्षका केन्द्रीय सदस्य उपस्थित छैनन्। उनीहरूलाई पनि बैठकमा बोलाइएको थियो। यसअघि आइतबार बसेको एमाले स्थायी कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन।