प्रधानमन्त्री देउवाले पाउलान् विश्वासको मत? यस्तो छ प्रतिनिधि सभाको गणित
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने/नपाउने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको निर्णयमा निर्भर छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
सर्वोच्च अदालतको परमादेश अनुसार, २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले पुन:स्थापित प्रतिनिधि सभा बैठकको पहिलो दिन नै विश्वासको मत लिन लागेका हुन्। ७ जेठमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
२७५ सदस्यीय प्रतिनिधि सभामा चार पद रिक्त छन्। नेकपा (माओवादी केन्द्र)ले टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई दल त्याग ऐन अनुसार, कारबाही गरेकाले प्रतिनिधि सभामा २७१ सांसद छन्। विश्वासको मतका लागि देउवालाई १३६ भोट आवश्यक पर्छ।
विजय गच्छदार र मोहम्मद अफताब आलम निलम्बित भएकाले कांग्रेसका ६१ सांसदले मात्रै मताधिकार प्रयोग गर्न पाउनेछन्। ५० जना सांसद भएको सत्ता साझेदार माओवादी केन्द्रले पनि देउवालाई भोट दिने निर्णय गरिसकेको छ। सभामुख बाहेक माओवादीका ४९ र कांग्रेसको गरी देउवाले ११० मत पाउने देखिन्छ।
त्यस्तै, आफ्नो पार्टीका १८ सांसदले देउवाको पक्षमा मत दिने निश्चित भइसकेको जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई बताउँछन्। जसपाका ३४ सांसदमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा परेका छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि देउवाको पक्षमा मत दिने बताएकी छन्।
कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको जोड्दा १२९ मत हुन्छ। तर, देउवालाई १३६ मत आवश्यक पर्छ। बहुमत पुर्याउन एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका कम्तीमा ७ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ।
नेपाल पक्षका सांसद विरोध खतिवडा, कल्याणी खड्का, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायतले देउवालाई विश्वासको मत दिने बताइसकेका छन्। वरिष्ठ नेता नेपाल पक्षका २३ सांसदले सर्वोच्च अदालतमा पुगेर देउवालाई प्रधानमन्त्री बनाउने भनी हस्ताक्षर गरेका थिए।