राप्रपा सांसद लिङदेन तटस्थ बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेन तटस्थ बस्ने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। स्वतन्त्र सांसदका रूपमा रहेका लिङदेनले मतदानमा सहभागी नहुने बताए।
पार्टीको नेताहरूसँगको छलफलपछि मतदानमा सहभागी नहुने निष्कर्षमा पुगेको उनले बताए। “मैले हाम्रो पार्टीका नेताहरूसँग कुराकानी गरें। उहाँहरूको सरसल्लाहपछि तटस्थ बस्ने भएको छु,” लिङदेनले हिमालखबरसँग भने।
प्रतिनिधि सभामा अहिले २७१ जना सांसद छन्। विश्वासको मतका लागि १३६ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले नेकपा (एमाले)का १२१, नेपाली कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, जनता समाजवादी पार्टी (जसपा)का ३२, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का एक–एक जना सांसद छन्। कांग्रेसका दुई र जसपाका दुई जना निलम्बनमा परेका छन्।