‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेहरू एमालेमा रहन्नन्’
नेकपा (एमाले) स्थायी कमिटी बैठकले आफ्ना पार्टीका सांसदहरूलाई प्रतिनिधि सभामा विश्वासको मतको विपक्षमा भोट हाल्न निर्देशन दिएको छ।
आइतबार बसेकाे स्थायी कमिटीको बैठकले देउवाको विपक्षमा भोट हाल्न पुनः निर्देशन दिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकबारे जानकारी दिँदै उनले भने, “आफ्नै पार्टीको सरकार ढालेर बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिनेहरू एमालेमा रहन सक्नुहुन्न।”
एमाले एकताबद्ध भइहाल्छ कि भनेर हतार हतार विश्वासको मत लिन लागेको ज्ञवालीको भनाइ छ। जनादेशबाट नभई परमादेशबाट आएको सरकार भएको हुनाले आफ्नो पार्टीले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको उनले बताए।