प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। सरकारमा सहभागी भएको र प्रतिनिधि सभालाई जोगाउन पर्ने भएकाले विश्वासको मत दिने निर्णय गरिएको माओवादीले जनाएको छ।
देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संघीय संसद् सचिवालयमा विश्वासको मतको प्रस्ताव दर्ता गरेका छन्।
नेपाल संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए। यो उपधारा अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।