मलाई प्रलोभनमा पार्ने दुष्प्रयास भइरहेको छ : सांसद चौधरी
नेकपा (एमाले)की सांसद गंगा चौधरी (सत्गौवा)ले आफूलाई विश्वासको मतको पक्षमा मत दिन बिभिन्न प्रलोभन आइरहेको बताएकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत मागेर बारम्बार फोन आउने गरेको चौधरीले बताइन्। “पार्टीकै नेताहरूले देउवाजीलाई भोट दिनुपर्याे भनेर प्रलोभन देखाइराख्नुभएको छ,” चौधरीले हिमालखबरसँग भनिन्, “जनताको प्यारो पार्टी नेकपा (एमाले)ले जे निर्णय गर्छ त्यसको अक्षरशः पालना गर्छु।”
एमालेलाई एकताबद्ध गराउनुपर्ने उनको भनाइ छ। चौधरी भन्छिन्, “पार्टीको हित विपरीत जान सक्दिनँ, मलाई प्रलोभन देखाएर समय बर्बाद नगर्नुहोला।”
यसअघि एमाले वरिष्ठ नेता माधव नेपालको पक्षमा खुल्दै आएकी सांसद चौधरीले गत वैशाखमा प्रतिनिधि सभामा मतदान हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट दिएकी थिइन्।