मूल्यवृद्धि बढ्न थाल्यो, शोधनान्तर स्थिति दुई वर्षपछि घाटामा
नियन्त्रणमा रहेको उपभोग्य वस्तुको बजार मूल्य फेरि उकालो चढ्न शुरू गरेको छ।
नेपाल राष्ट्र ब्यांकले बिहीबार प्रकाशित गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, चालू आर्थिक वर्षको जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.१९ प्रतिशत पुगेको छ। गत वैशाखमा यस्तो मूल्यवृद्धि ३.६५ प्रतिशत थियो।
जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ६.२२ प्रतिशतले बढेको छ। यसमध्ये पनि सबैभन्दा धेरै घ्यू–तेलको मूल्य गत वर्षको तुलनामा करीब ३१ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले बजार मूल्य बढेको व्यवसायीहरूले बताउँदै आएका छन्।
जेठमा मासु र तरकारीको मूल्य करीब ८–८ प्रतिशतले र चिनीको मूल्य ५.२ प्रतिशतले बढेको छ। तर, मसलाको मूल्य भने करीब ९ प्रतिशतले घटेको छ।
राष्ट्र ब्यांकका अनुसार, गैरखाद्य र सेवा समूहको मूल्य भने २.६३ प्रतिशतले मात्रै बढेको छ। जेठसम्ममा देशको निर्यात ३७.८ प्रतिशतले बढेर रू.१ खर्ब २१ अर्ब २५ करोड पुगेको छ। यसमध्ये भटमासको तेल मात्रै रू. ४२ अर्ब ३५ करोडको निर्यात भएको छ।
यो कुल निर्यातको करीब ३५ प्रतिशत हो। नेपाल ठूलो परिमाणमा भटमासको उत्पादक मुलुक होइन। तेस्रो देशबाट आयात गर्दै नाफा खाएर निकासी गर्ने प्रवृत्तिले गर्दा निर्यात बढेको देखिएको हो। जेठसम्ममा आयात पनि २५.७ प्रतिशतले बढेर रू.१३ खर्ब ८३ अर्ब नाघेको छ।
गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारण यही अवधिमा आयात करीब १५ प्रतिशतले घटेको थियो। आयात चुलिँदै गएपछि व्यापार घाटा रू.१२ खर्ब ६२ अर्ब नाघिसकेको छ। जसले गर्दा सरकारको चालू खातामा चाप परेको छ।
जेठसम्ममा चालू खाता झन्डै रू.२ खर्ब ९४ अर्ब पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो घाटा रू.६२ अर्ब ५९ करोड मात्रै थियो। यो समयमा शोधनान्तर स्थिति पनि रू.१५ अर्ब १५ करोड घाटामा पुगेको छ।
बाह्य क्षेत्रमा नेपालको व्यापार घाटा थपिएपछि शोधनान्तर स्थिति करीब दुई वर्षपछि नोक्सानीमा गएको हो। देशमा भित्रिने भन्दा बाहिरिने रकम बढेपछि यस्तो शोधनान्तर स्थिति घाटामा पुग्छ। बढ्दो व्यापार घाटा थेग्न रेमिटेन्सको भरथेग भने कायम छ।
जेठसम्ममा देशमा रू.८ खर्ब ७० अर्ब ७१ करोड रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.६ प्रतिशत धेरै हो। निर्यातमा रकम बाहिरिन थालेपछि सरकारको वैदेशिक मुद्राको सञ्चिति पनि घटिरहेको छ। जेठसम्ममा कुल विदेशी विनिमयको सञ्चिति १३ खर्ब ६५ अर्ब कायम भएको छ। जुन गत वर्षको असार मसान्तका तुलनामा २.६ प्रतिशत थोरै हो।