मेसीले दिलाए २८ वर्षपछि अर्जेन्टिनालाई उपाधि
लियोनल मेसीले २८ वर्षपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितामा ठूलो उपाधि दिलाएका छन्।
आज बिहान ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनालाई कोपा अमेरिका फूटबल प्रतियोगिताको उपाधि दिलाएका हुन्। फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको हो।
अर्जेन्टिनाका लागि खेलको २२औं मिनेटमा डी पाउलको लामो पासमा डी मारियाले गोल गरेका थिए। त्यही गोल अर्जेन्टिनाका लागि उपाधि जित्न पर्याप्त भयो।
अहिलेसम्म मेसीले नेतृत्व गरेका नौ वटा मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन। मेसीको नेतृत्वमा अर्जेन्टिनाका लागि पहिलो उपाधि हो।
यसअघि अर्जेन्टिनाले सन् १९९३ मा अर्मियो फ्रेन्ची ट्रफी र सन् १९९२ मा फिफा कन्फेडेरेन्स कप जितेको थियो। यसअघि मेसीको नेतृत्वमा सन् २०१४ को विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन।
कोपा अमेरिकाको फाइनल खेलमा दुवै टीमले थुप्रै मौका गुमाए। पहिलो हाफमा दुवै टीमले राम्रा अवसर पाएका थिए।
दोस्रो हाफमा ब्राजिलले अर्जेन्टिनालाई दबाबमा राखेको थियो। दुवै टीमले गोल गर्ने राम्रा अवसर पाएका थिए।
यो हारसँगै नेयमार नेतृत्वको ब्राजिल उपविजेता बनेको छ। शनिबार बिहान भएको खेलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो बनेको थियो।