यूरो कप : फाइनल प्रवेशका लागि इटाली र स्पेन भिड्दै
यूरो कपको फाइनलमा प्रवेशका लागि आज राति इटाली र स्पेन भिड्न लागेका छन्।
नेपाली समय अनुसार, आज राति १२ः४५ बजे इटाली र स्पेनबीच पहिलो सेमिफाइनल हुनेछ। स्विट्जरल्यान्डलाई पराजित गर्दै स्पेन र बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइलनमा पुगेका हुन्।
क्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गरेको थियो। त्यस्तै, दोस्रो क्वार्टरफाइनलमा इटालीले बेल्जियमलाई २-१ ले पराजित गरेको थियो।
यसअघि सन् २०१६ को यूरो कपमा इटाली र स्पेनको प्रि-क्वार्टरफाइनलमा प्रतिस्पर्धा भएको थियो। जसमा इटालीले स्पेनलाई २-० ले पराजित गरेको थियो।
अहिलेसम्म यूरो कप र विश्वकपमा इटाली र स्पेन नौ पटक भिडेका छन्। जसमा इटालीले चार र स्पेनले एक खेल जितेका थिए भने चार खेल बराबरीमा टुङ्गिएका थिए। यूरो कपमा यी दुई टीमको सातौं प्रतिस्पर्धा हुनेछ।
विश्वकप र यूरो कपमा इटालीको यो १२औं सेमिफाइनल यात्रा हो। यूरोपियन देशमध्ये सबैभन्दा धेरै जर्मनी २० पटक सेमिफाइनलमा पुगेको छ।
आजको विजेता टोली उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कको विजेतासँग भिड्नेछ।