एमालेसहित विपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित
आजको व्यवस्थापिका संसद बैठकमा नेकपा एमाले लगायत विपक्षी दलहरुले अवरोध गरेका छन् ।
बैठकको शुरुमा बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गरे ।
उनले तराईलाई अलग बनाउने प्रस्ताव कुनै पनि हालतमा अगाडि बढ्न नदिने भन्दै सरकारले निर्वाचन हुन नदिन संशोधन प्रस्ताव दर्ता गरेको आरोप लगाए। त्यसलगत्तै नेकपा एमाले, नेकपा माले, नेमकिपा र राष्ट्रिय जनमोर्चालगायतका दलका सांसदहरु कुर्सीबाट उठेर बैठक अबरोध गरे ।
सभामुखले संविधान संशोधन प्रस्तावको विषय कार्यसूचिमा नरहेको जानकारी गराउँदै आ–आफ्नो स्थानमा बस्न सांसदहरुलाई आग्रह गरे पनि प्रतिपक्ष दलहरुले नमानेपछि बैठक शुक्रबार १७, मंसीर दिउँसो १ बजेसम्मकालागि स्थगित भएको छ ।
संसदको कार्यसूचिमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकामानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमाथि बोल्न बाँकी सांसदहरुले बोलिसकेपछि उक्त प्रस्ताव महाभियोग समितिमा पठाउने भन्ने थियो ।