संशोधनलाई समर्थन गरी निर्वाचनमा जान मोर्चालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् ।
आज विहान बालुवाटारमा संयुक्त मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले मोर्चाकै माग सम्बोधन गर्न संसोधन प्रस्ताव ल्याइएको बताउँदै सबै माग पुरा हुन नसक्ने भएकाले जति संशोधन गर्न खोजिएको छ त्यसलाई स्वीकार गरी निर्वाचनमा जान मोर्चाका नेताहरुसँग आग्रह गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।
तर, मधेसी मोर्चाका नेताहरुले भने संविधान संशोधनले आफूहरुको निकै कम माग मात्र सम्बोधन भएकोले त्यसमा थप परिमार्जन हुनुपर्ने बताएका छन् ।
बैठकमा प्रधानमन्त्रीले स्थानीय तह तथा निकायको चुनाव गर्ने सरकारको तयारीबारे जानकारी दिँदै त्यसबारे मधेशी मोर्चाको धारणा माग गरेका छन् ।