६ महीनाभित्र सबैलाई खोप : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महीनाभित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन्।
बुधबार नेपाल बाल संगठनको केन्द्रीय सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरीदको विषय सुल्झँदै गएको बताए। “खोप खरीदको विषय सुल्झँदै गएको छ। सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइनेछ,” प्रधानमन्त्री ओलीले बताए।
उनले अर्को वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम गर्नुपर्ने अवस्था नरहने बताए। सन् २०२१ भित्र सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उत्कृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताए। बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनैपर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे।
यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुनपुगेको पनि उनले बताए। साथै, त्यस्ता संस्थाहरूले कहिलेकाहीँ आफ्नो उचाइ विपरीत संकीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्री ओलीले बताए। सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने उनको भनाइ थियो।