‘ओलीले गलत बाटो अँगाल्दा सरकार, संसद् र पार्टी तहसनहस’
नेकपा (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत बाटो अँगाल्दा सरकार, संसद् र पार्टी तहसनहस भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले गलत बाटो अँगालेकै कारण झन्डै दुईतिहाइ बहुमत प्राप्त बलियो सरकार यो अवस्थामा पुगेको बताएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत २१ मन्त्रीलाई कामकाजमा रोक लगाएपछि प्रधानमन्त्रीसहित पाँच जना मन्त्री मात्रै बाँकी रहेको अवस्थालाई इङ्गित गर्दै प्रतिक्रिया जनाएका हुन्।
“संसद्मा झन्डै दुईतिहाइ बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो,” नेपालले भनेका छन्, “तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अँगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दै छन्।”
प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पदको दुरुपयोग गरिरहेको नेपालको आरोप छ। उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, “सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन।”
उनले प्रधानमन्त्री ओलीका गलत कार्यको खबरदारी गर्न पनि आह्वान गरेका छन्। र, आफूले गलत कार्यको खबरदारी गर्दै आएको जनाएका छन्।
उनले अझै पनि एमालेलाई एकताबद्ध राख्न नेता कार्यकर्ता लाग्नुपर्ने औँल्याएका छन्। नेपालले भनेका छन्, “एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं, साथै नेपाल राष्ट्रको गरिमा उँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं। मुलुकलाई भँड्खालोमा पुग्नबाट समयमै जोगाऔं।”