चिनियाँ टोलीले पन्छायो पहिरो, तामाकोशीमा बाढीको जोखिम टर्याे
तामाकोशी नदीमा मिसिने चीनको रोङ्सी नदीमा खसेको पहिरो चिनियाँ टोलीले पन्छाएको छ। पहिरोका कारण तामाकोशी नदीमा आउने आकलन गरिएको बाढीको जोखिम टरेको छ।
चिनियाँ टोलीले आज पहिरो पन्छाएको खबर गरेको जिल्ला प्रशासन कार्यालय, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए। पहिरो हटाएर नदीको प्रवाहलाई साबिककै रूपमा ल्याइएको सहायक प्रजिअ तिवारीले जनाएका छन्।
४ असारमा चीनको तिङ्ग्री काउन्ट्रीको रोङजिया शहर नजिक रोङ्सी नदीमा पहिरो गएको थियो। पहिरोले गर्दा नदी थुनिएर ताल बनेको थियो।
शनिबार बिहानैदेखि चिनियाँ टोली पहिरो पन्छाउन खटिएको थियो। चिनियाँ टोलीले आज मध्याह्नसम्म पहिरो पन्छाउने काम गरेको थियो। अहिले नदी यसअघिकै अवस्थामा फर्किएको जनाएको छ।
नदीमा बनेको जलाशयको पूर्ण निकास भइसकेकाले बाढीको खतरा टरेको सहायक प्रजिअ तिवारीले बताए। जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेर खतरा टरेको जनाएको छ। सूचनामा भनिएको छ, “उक्त जलाशयबाट पानी पूर्ण निकास भई नदीको प्रवाह नियमित भएको हुनाले सोको कारण तत्काल कुनै खतराको अवस्था कायम नरहेको व्यहोरा जानकारी गराइन्छ।”