कांग्रेस महाधिवेशन १६-१९ भदौमा गर्ने निर्णय
नेपाली कांग्रेसले १४औँ महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीको प्रस्ताव अनुसार, १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए। यसअघि ९ भदौबाट गर्ने तय भएको थियो।
कोभिड-१९ महामारीका कारण गरिएको निषेधाज्ञाका कारण महाधिवेशन कार्यतालिका प्रभावित भएको थियो। जसले गर्दा महाधिवेशन सात दिन पछाडि सारिएको हो।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गाउँ तथा नगरको वडाको अधिवेशन १२ साउनमा गर्ने निर्णय गरेको छ। गाउँपालिका र नगरपालिकाको अधिवेशन १६ साउनमा तोकिएको छ।
क्षेत्रीय अधिवेशन २० साउनमा हुनेछ भने प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा २३ साउनमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा २६ साउनमा गर्ने निर्णय भएको महतले जानकारी दिए। प्रदेश अधिवेशन १ र २ भदौमा तय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विपक्षी गठबन्धनलाई थप बलियो बनाउँदै लग्ने निर्णय गरेको छ। अन्य पार्टी र व्यक्तिलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा सामेल गर्दै लग्ने निर्णय भएको उनले बताए।