कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न लागेको छ।
बिहीबार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका सम्बन्धी प्रस्ताव पेश गरेका थिए। जस अनुसार, १६–१९ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ।
त्यसमाथि छलफल र निर्णय गर्न आज मध्याह्न १ बजे बैठक बस्न लागेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बाढी र पहिरोका विषयमा छलफल भएको थियो। बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न र प्रभावित परिवारको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो।
त्यस्तै, कोभिड–१९ नियन्त्रणका लागि सरकारले निषेधाज्ञामा मात्रै जोड दिएको जनाउँदै कांग्रेसले अन्य विकल्प खोज्न माग गरेको थियो। यससँगै कोभिड–१९ विरुद्धको खोप आयातका लागि पहल गर्न सरकारसँग माग गरेको थियो।
कांग्रेस बैठकले केही जिल्लाको स्थानीय तहको संगठन पुनर्संरचनामा आएको गुनासोबारेे केन्द्रले नै टुंगो लगाउने निर्णय गरेको थियो। जसमा सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा लगायतका जिल्ला रहेका छन्।