यादव पक्षका केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुने
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुने भएका छन्।
बिहीबार बसेको यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो। “आधिकारिकताको दाबी गर्न सबै केन्द्रीय सदस्य सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेका छौं,” एक केन्द्रीय सदस्यले भने।
जसपा अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई कारबाही गरेका थिए। त्यस्तै, ठाकुर पक्षले यादवलाई कारबाही गरेको थियो।
दुवै पक्षले कारबाही गरे अनुसार दल दर्ता पुस्तकमा अद्यावधिक गर्न निवेदन दिएका थिए। तर, आयोगले दुवै पक्षको दाबी अस्वीकार गरेको थियो।
केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। बहुमत सदस्यले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने माग गर्दै यादव पक्षले निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो।
जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ। आज बसेको बैठकमा ३० जना उपस्थित थिए।