पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगियो
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ।
उनको परिवारले थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लगेको हो। उनी १२ः३० बजेको नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका छन्।
यसअघि कोभिड-१९ संक्रमण भएका खनालको स्वास्थ्यमा समस्या देखिएपछि ३१ जेठमा नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनको मिर्गौलामा समस्या देखिएको उपचारमा संलग्न डा. ब्रजेन्द्र श्रीवास्तवले बताए। “मूलत: नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरू देखिएका छन्,” डा. श्रीवास्तवले भने।
उनका अनुसार, खनालको रगत र पिसाबमा पनि इन्फेक्सन देखिएको छ। कोभिड-१९ हुँदा निमोनियाको समस्या देखिएको र अहिले फेरि समस्या बल्झिएको चिकित्सकले बताएका छन्।
उनको दुई दिनदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। नर्भिकको विशेष वार्डमा राखेर अक्सिजनको सपोर्टमा उपचार चलिरहेको थियो।
ज्वरो घट्न सकेको थिएन। पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। उनलाई निरन्तर खोकी पनि लागिरहेको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उनको परिवारजनले दिल्ली लगेका हुन्। यसअघि पनि उनको दिल्लीको अपोलो अस्पतालमा उपचार भएको थियो।
उपचारका लागि बुधबार दिल्ली जानुअघि खनालले विज्ञप्ति मार्फत टुटफुट र विभाजन होइन, पार्टी एकता गर्न आह्वान गरेका हुन्। खनालले भनेका छन्, “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौं र मुलुकको नेतृत्व गर्न सक्छौं।”