मेलम्चीमा बाढीले घर र पुलमा क्षति (तस्वीरहरू)
मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा क्षति पुर्याएको छ। बाढीसँगै आएको लेदोले घरमा समेत क्षति पुगेको छ।
मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। बाढीले घर, पुल लगायत संरचनामा क्षति पुर्याएको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जनाएका छन्।
मेलम्ची खानेपानी ड्याममा केही क्षति पुगेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको मन्त्री तामाङले जनाएका छन्।
उनका अनुसार, नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ।
उनले पीडितहरूलाई आजै सरकारले राहत उपलब्ध गराउने पनि जनाएका छन्। हेलिकोप्टरबाट अत्यावश्यक सामग्री आपूर्ति गर्ने बताएका छन्।