बागमती प्रदेशमा बक्यौता सवारी कर तिर्दा जरिवाना नलाग्ने
बागमती प्रदेशले लामो समयदेखि सवारी साधनको कर नबुझाएका सवारीधनीलाई कर बुझाएमा जरिवाना मिनाहा दिने भएको छ।
मंगलबार सार्वजनिक गरिएको प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा आर्थिक वर्ष २०६५/६६ देखि कर नबुझाएका सवारीधनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छूट दिने प्रावधान राखिएको छ।
बागमती प्रदेशको बजेटमा ‘बागमती प्रदेशभित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीसाधनको आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले २०७८ साल फागुन मसान्तसम्म सवारी साधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छूट हुने व्यवस्था गरेको छु’ भन्ने व्यवस्था उल्लेख छ।
बागमती प्रदेशको चालू आर्थिक वर्षको बजेटले पनि लामो समयदेखि कर नतिरेका सवारी साधनका धनीलाई कर तिरेमा जरिवाना मिनाहाको व्यवस्था गरेको थियो।