नारायणीले पार गर्याे सतर्कता तह, गण्डकी र लुम्बिनीमा भारी वर्षा
दुई दिनदेखि लगातारको वर्षाका कारण नारायणी नदीले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्व सूचना केन्द्रका अनुसार नारायणी नदीको देवघाटस्थित स्वचालित बाढीमापन केन्द्रमा भएको रेकर्ड अनुसार देवघाटमा पानीको बहाव ७.६ मिटर पुगेको छ। उक्त स्थानमा पानीको बहाव ७.३ मिटर पार हुनुलाई सतर्कता तह पार गरेको मानिन्छ भने आठ मिटर पुगेपछि खतराको तहमा पुगेको मानिन्छ।
गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हिजोदेखि भइरहेको भारी वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढेको छ भने गुल्मी र मनाङमा बाढी तथा पहिरोका घटना भएका छन्।
म्याग्दी, चितवन, पाल्पा, मकवानपुर, तनहुँ, स्याङ्जा, कास्की, गोर्खा, पाल्पा, अर्घाखाँची, रुपन्देही लगायतका जिल्लामा भारी वर्षा भइरहेको छ। ती स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ। अहिले पनि वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागले विभिन्न स्थानमा राखेका स्वचालित वर्षामापन केन्द्रले भारी वर्षा भइरहेको संकेत स्वरूप सतर्कताका लागि साइरन बजाएका छन्।