कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
नेकपा (एमाले)का तीन मन्त्री उपस्थित नभएपछि कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित होस् भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे। प्रदेश सभा बैठकमा उपस्थित सदस्यको बहुमतको आधारमा पारित भएको सभामुख शाहीले घोषणा गरेका हुन्।
कर्णाली प्रदेश सभामा ३९ सदस्य छन्। त्यसमध्ये सरकारमा सहभागी तीन मन्त्री बैठकमा सहभागी भएनन्। प्रदेश सभामा सभामुखसहित ३६ जना उपस्थित थिए। त्यसमध्ये नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका १८ सांसद रहेका थिए। बहुमत सदस्य पक्षमा देखिएकाले नीति तथा कार्यक्रम पारित भएको हो।
यसअघि फ्लोर क्रस गरेर एमालेका चार सांसदले मुख्यमन्त्री शाहीलाई मत दिएका थिए। उनीहरूलाई एमालेले सांसदबाट हटाएको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत उनीहरूको पद थमौती गरेको थियो।
सर्वोच्चबाट प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दबहादुर बुढाको पद जोगिएको हो। उनीहरूमध्ये थापा, शाही र बुढा मन्त्री छन्।
अहिले प्रदेश सभामा एमालेका २० सांसद छन्। मन्त्री भएका तीन सांसद अनुपस्थित रहेपछि विपक्षमा १७ मात्रै देखिएका हुन्।