सातै प्रदेशमा बजेट आउँदै, प्राथमिकतामा स्वास्थ्य
आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छन्। प्रदेश सरकारले कोभिड-१९ केन्द्रित भएर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।
सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्। गण्डकी र कर्णालीबाहेक पाँचै प्रदेश सरकारका नीति तथा कार्यक्रम पारित भइसकेका छन्।
गण्डकीमा नयाँ सरकार गठन भएकाले सोमबार मात्रै नीति तथा कार्यक्रम आएको थियो। आज नीति तथा कार्यक्रम पारित गरेपछि बजेट पेश गर्ने कार्यसूची रहेको छ।
कर्णालीमा पनि सोमबार नै नीति तथा कार्यक्रम आएको थियो। कर्णालीमा पनि आज नीति तथा कार्यक्रम पारित गरेपछि बजेट पेश गर्ने कार्यसूची रहेको छ।
सातै प्रदेश सरकारका नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कोभिड–१९ नियन्त्रणसँगै स्वास्थ्य संरचना निर्माण र स्वास्थ्य उपकरणमा खरीदमा जोड दिने जनाइएको छ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशकाे अपराह्न ३ बजे प्रदेश सभा बैठक बस्दै छ। त्यस्तै, प्रदेश २, गण्डकी र सुदूरपश्चिम प्रदेश सभाको अपराह्न ४ बजे बस्ने बैठकमा बजेट पेश हुने भएको छ। कर्णाली प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।
चालू आर्थिक वर्ष २०७७/७८ मा सातै प्रदेशले सवा दुई खर्बभन्दा बढीको बजेट ल्याएका थिए। चालू आर्थिक वर्षमा प्रदेश १ को ४० अर्ब ८९ करोड, प्रदेश २ को ३८ अर्ब ७२ करोड, बागमतीको ५१ अर्ब ४२ करोड र गण्डकी प्रदेशको ३२ अर्ब १३ करोड बजेट रहेको छ।
त्यस्तै, चालू आर्थिक वर्षमा लुम्बिनीको ३६ अर्ब ४१ करोड, कर्णालीको ३३ अर्ब ७४ करोड र सुदूरपश्चिम प्रदेशको २८ अर्ब १६ करोड बजेट रहेको छ।