नारायणी जलाधार क्षेत्रमा भारी वर्षा
नारायणी नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहान १०ः१५ बजेसम्म कास्कीको घोडेपानी, पाल्पाको तानसेन, चितवन लगायतका स्थानमा भारी वर्षा भएको छ।
विभागका स्वचालित वर्षा मापन केन्द्रका अनुसार, नारायणी नदीको जलाधार क्षेत्रमा पर्ने कुमाल गाउँमा पछिल्लो १२ घण्टामा १२१.८, पाल्पाको गण्डकोटमा १४६, कास्कीको लुम्लेमा ९५.२ र चितवनको भरतपुर विमानस्थलमा १२२.८ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, चितवनको चरचर्रेमा १८१.४, कल्याणपुरमा ९४.६, म्याग्दीको घोडेपानीमा ९१.१५, पाल्पाको तानसेनमा ९४.६, चितवनको रामपुरमा १५०.४ र अरुणखोलामा १४१.४ मिलिमिटर वर्षा भएको विमागले जनाएको छ।
पछिल्लो १२ घण्टामा १२० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।
त्यसैगरी नारायणी नदीको सहायक नदी बडीगाड खोलामा पानीको सतहले खतराको तह पार गरेको छ। रुद्रवेनीमा रहेको बाढी मापन केन्द्रका अनुसार, बडीगार्ड खोलामा पानीको सतह ३.५५ मिटर पुगेको छ। उक्त स्थानमा पानीको सतह ३.५ मिटर हुनुलाई खतराको तह मानिन्छ।
जल तथा मौसम विज्ञान विभागले प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।