उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो, के-के खुल्छन्?
आजबाट काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ। अबका सात दिन बिहान तथा साँझ हिँडडुलदेखि केही व्यापार व्यवसाय गर्न पाइनेछ।
काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण कम नभएपछि निषेधाज्ञा थपिएको हो। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ असारसम्म निषेधाज्ञा थप्ने निर्णय गरेका थिए। आजबाट थपिएको निषेधाज्ञा खुकुलो बनाउन आदेश दिएका छन्। उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू छ।
आजबाट केही कामकाज गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, ग्यास, खानेपानी, किराना पसल तथा डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) खोल्न पाइनेछ। यसका लागि बिहान ११ बजेसम्म समय तोकिएको छ। यसअघि १० बजेसम्म मात्रै खोल्न दिइएको थियो।
त्यस्तै, पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुल्नेछन्। विकास निर्माण सामग्रीका पसलहरू अपराह्न ४ बजेपछि खोल्न पाइनेछ। ठूलो परिमाणको ढुवानी भने राति मात्रै गर्न पर्नेछ।
आजबाट अत्यावश्यक सामानको होम डेलिभरी सेवा सञ्चालन हुनेछ। यसका लागि बिहानबाट साँझ ७ बजेसम्मको समय तोकिएको छ।
यसअघि जस्तै आगामी सात दिन पनि अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दुग्धजन्य पदार्थ, कुखुराको दाना, चल्ला, ग्यास, खानेपानी ढुवानीका साधन बिहान ९ देखि ११ बजेसम्म चलाउन पाइनेछ। यसका लागि सम्बन्धित सेवा लेखिएको ब्यानर वा प्रिन्ट टाँस्नुपर्नेछ।
अब सातामा दुई दिन सहकारी संस्था र रेमिट पनि खुल्नेछन्। यसका लागि आइतबार र बिहीबार तोकिएको छ।
यससँगै विकास निर्माणका काम पनि सहज रूपमा सञ्चालन हुनेछ। यी सबै कामकाजका लागि स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ।
यसअघि बन्द रहेका शिक्षण संस्था, अत्यावश्यक बाहेकका पसल, शपिङ मल, सैलुन, स्विमिङ पुल लगायत बन्द नै रहनेछन्। त्यस्तै, सार्वजनिक यातायात, अत्यावश्यक बाहेकका सवारी साधन पनि चलाउन पाइनेछैन।
त्यस्तै, सभा, समारोह, भेला, गोष्ठीमा पनि रोक लगाइएको छ। विवाह, व्रतबन्ध, भोजभतेरमा पनि तोकिए भन्दा बढी व्यक्ति सहभागी हुन पाइनेछैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा संक्रमण घट्दै गएको छ।
मंगलबार बिहानसम्म काठमाडौंमा आठ हजार १८२, ललितपुरमा तीन हजार ४४२ र भक्तपुरमा दुई हजार ४३४ सक्रिय संक्रमित छन्।