देशका १७ जिल्लामा थपियो निषेधाज्ञा
डेढ महीनाबाट लागू गरिएको निषेधाज्ञा फेरि थप्न थालिएको छ। सोमबार बिहानसम्म काठमाडौं लगायत देशका १७ जिल्लामा निषेधाज्ञा थपिएको हो।
कोभिड–१९ नियन्त्रणका लागि मध्य वैशाखबाट निषेधाज्ञा लगाउन थालिएको थियो। काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो। अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लम्ब्याएर ७ असारसम्म पुर्याइएको छ। उपत्यकामा भने खुकुलो गर्न थालिएको छ।
गृह मन्त्रालयका अनुसार, सोमबारसम्म देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ। धेरैजसो जिल्लामा आज राति १२ बजे निषेधाज्ञा सकिँदै छ। केही जिल्लाले निषेधाज्ञा थप्ने निर्णय गरिसकेका छन्।
अहिलेसम्म १६ जिल्लामा एक साता थपेर ७ असारसम्म निषेधाज्ञा जारी गरिएको छ। जसमा काठमाडौं, भक्तपुर, ललितपुर, बागलुङ, डडेल्धुरा, उदयपुर, कालिकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, नवलपरासी पूर्व, तनहुँ, बारा, इलाम, मुस्ताङ र अछाममा निषेधाज्ञा थपिएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, दार्चुलामा १० असारसम्म निषेधाज्ञा थपिएको छ। गोरखामा ५ असार, पर्सामा ६ असार, चितवनमा ३ असार, सल्यान र रामेछापमा २ असारसम्म निषेधाज्ञा जारी रहेको छ।
अहिलेसम्म मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा हटेको छ। अन्य जिल्लामा भने फेरि थप्ने तयारी भइरहेको जनाइएको छ।