पूर्वप्रधानमन्त्री खनाल अक्सिजनको सपोर्टमा
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा राखिएको छ।
पूर्वप्रधानमन्त्री खनाललाई नौ दिनदेखि सामान्य ज्वरो आएको थियो। ज्वरो कम नभएपछि आज बिहान ७ः४५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।
आज बिहान आकस्मिक कक्षमा भर्ना भएका उनलाई अहिले आकस्मिक कक्षबाट वार्डमा सारिएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको जनाइएको छ।
अस्पतालका अनुसार, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको भनाइ छ।
पूर्वप्रधानमन्त्री खनाललाई कोभिड–१९ संक्रमण भएको थियो। उनको नर्भिक अस्पतालमै उपचार भएको थियो।
निको भएपछि घरमै आराम गरिरहेका खनाललाई पुनः ज्वरो आएको हो। नौ दिनदेखिको ज्वरोले थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या पनि देखिएको उनको सचिवालयले जनाएको छ।
पूर्वप्रधानमन्त्री खनालको आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।