निषेधाज्ञामा काठमाडौं उपत्यकामा के-के गर्न पाइन्छ?
कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा ७ असारसम्म थपिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। ३१ जेठमा सकिन लागेको निषेधाज्ञा थपेर ७ असारसम्म पुर्याइएको हो। उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो।
यस पटक थपिएको निषेधाज्ञामा केही कामकाज गर्न पाइने भएको छ। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, ग्यास, खानेपानी, किराना पसल तथा डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसअघि १० बजेसम्म मात्रै खोल्न दिइएको थियो।
यस पटक पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। विकास निर्माण सामग्रीका पसलहरू अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ। ठूलो परिमाणको ढुवानी भने राति मात्रै गर्न पाइनेछ।
अत्यावश्यक सामानको होम डेलिभरी गर्न पाइने भएको छ। यसका लागि साँझ ७ बजेसम्मको समय तोकिएको छ।
त्यस्तै, अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। तरकारी, फलफूल, खाद्यान्न, दुग्धजन्य पदार्थ, कुखुराको दाना, चल्ला, ग्यास, खोनपानी ढुवानीका साधन बिहान ९ देखि ११ बजेसम्म चलाउन पाइने भएको छ। यसका लागि सम्बन्धित सेवाको लेखिएको ब्यानर वा प्रिन्ट टाँस्नुपर्नेछ।
यससँगै सहकारी संस्था र रेमिट आइतबार र बिहीबार सञ्चालन गर्न पाइने भएको छ। सबैले स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ।