पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थनको पत्र फर्जी : जसपा
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन दिएको भनेर पठाएको पत्र आधिकारिक नभएको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ।
जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आइतबार प्रेस विज्ञप्ति जारी गरी समर्थन दिने व्यक्ति जसपाको साधारण सदस्य नभएको र पत्र पनि नक्कली लेटरप्याड प्रयोग गरी बनाएको जनाएका छन्। जसपाले भनेको छ, “हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्ट्याम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो।”
आइतबार नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरेका थिए। त्यसमा जसपाको गण्डकी प्रदेश समितिका अध्यक्ष अनिल परियारको समर्थन रहेको भनेर पत्र बुझाएका थिए। त्यही पत्र फर्जी भएको जसपाले जनाएको हो।
गुरुङलाई समर्थन गरेको पत्र दिने व्यक्ति आफ्नो साधारण सदस्य पनि नरहेको जसपाले जनाएको छ। जसपाले भनेको छ, “अनिल परियार जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य पनि नरहेको स्पष्ट गर्दछौं। जनता समाजवादी पार्टी, नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा श्री मोति रिजाल रहनुभएको छ।”
जसपाका दुई जना सांसदले भने त्यतिबेलाको विपक्षी गठबन्धनलाई सघाएका थिए। त्यही गठबन्धनका कृष्णचन्द्र नेपालीलाई प्रदेश प्रमुख पौडेलले शनिबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।