‘कोरोनाका कारण ५३ प्रतिशतको रोजगारी गुम्यो’
देशभर निषेधाज्ञा लागेको एक महीनामै ५३ प्रतिशत परिवारले रोजगारी र ४० प्रतिशतको नियमित आम्दानीको स्रोत गुमेको सर्वेक्षण रिपोर्ट सार्वजनिक भएको छ।
युनिसेफ नेपालको सहकार्यमा शेयरकाष्ट इनिशियटिभ नेपालले गरेको सर्वेक्षणअनुसार वैशाख पहिलो हप्तादेखि जेठ पहिलो हप्ताभित्र उक्त संख्याले आम्दानीको स्रोत गुमाएको हो।
सर्वेक्षण ७–९ जेठमा सबै जिल्लाका ५०३ स्थानीय तहमा गरिएको थियो। जसमा तीन हजार घरधुरीका ४६ प्रतिशत महिला र ५४ प्रतिशत पुरुष उत्तरदाताको रुपमा सहभागी भएका थिए।
कृषि तथा पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकका साथै दैनिक ज्यालादारीमा काम गर्ने कामदार रोजगारी तथा नियमित आम्दानी गुमाउनेमा सबैभन्दा धेरै भएको सर्वेक्षणले देखाएको छ। त्यस्तै पसल र भाडाबाट आम्दानी गर्नेको स्रोत पनि गुमेको छ।
अरू प्रदेशको तुलनामा बागमती र कर्णाली प्रदेशमा रोजगारी तथा नियमित आम्दानी गुमाउनेको संख्या धेरै छ।
सर्वेक्षणअनुसार पछिल्ला केही महीनादेखि प्रत्येक १० जनामा १ जनाले बेरोजगार बस्नुपरेको बताएका छन्।
निषेधाज्ञा भएको एक महीनाको अवधिमा ९९ प्रतिशतले सरकारबाट कुनै किसिमको आर्थिक या जिन्सी सहयोग प्राप्त नगरेको बताएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १ प्रतिशतले चाहिँ सरकारबाट जिन्सी सहयोग पाएको बताएका छन्। जसमा केहीले खाद्यान्न, औषधि, मास्क र स्यानिटाइजर पाएको जनाएका छन्।