नवनियुक्त आठ मन्त्रीको विगत : वडाध्यक्षदेखि महिला आयोग अध्यक्षसम्म
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै सात मन्त्री र एक राज्यमन्त्री थपेका छन्।
योसँगै मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ। संविधानमा २५ जनाभन्दा बढीको मन्त्रिपरिषद् बनाउन नपाइने व्यवस्था छ।
खगराज अधिकारी, गृहमन्त्री
एमाले नेता खगराज अधिकारीले गृहमन्त्रीको जिम्मेवारी पाएका छन्। २०१८ सालमा कास्कीमा जन्मिएका अधिकारीले २०३२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। प्रतिनिधि सभाको निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।
उनी २०५१ र ०५६ मा पनि प्रतिनिधि सभा सदस्य थिए। उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। २०४६ देखि २०५२ सम्म नेकपा (माले) को सचिव रहेका अधिकारी २०६५ मा नेकपा (एमाले) को अञ्चल इन्चार्ज भएका थिए।
२०४९ सालमा साविक बेगनास गाविस वडा नम्बर ५ को वडाध्यक्ष भएका अधिकारी २०७० फागुनदेखि २०७२ असोजसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए। उनी राजनीतिक आन्दोलनका क्रममा ६ वर्ष जेल बसेका छन्।
गणेशकुमार पहाडी, सामान्य प्रशासनमन्त्री
पहाडीले २०४७ सालमा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरेका थिए। २०५२ मा खोटाङको एमाले जिल्ला कमिटी सदस्य भएका पहाडी ०६६ मा जिल्ला अध्यक्ष भएका थिए। २०७४ सालको प्रतिनिधि सभामा सिन्धुली–१ बा निर्वाचित पहाडी दोस्रो संविधान सभाको पनि निर्वाचित सदस्य हुन्।
पहाडी एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल पक्षधर नेता योगेश भट्टराई निकट मानिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ मध्येका एक उनी सर्वोच्च अदालतमा भने हस्ताक्षर गर्न गएनन्।
मोहन बानियाँ, मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रतिनिधि सभामा मुगुबाट समानुपातिक प्रतिनिधित्व गर्ने बानियाँ २०३६ सालदेखि राजनीतिमा सक्रिय छन्। तर, उनले २०४७ सालमा मात्रै नेकपा (माले) को सदस्यता पाएका थिए। बानियाँ २०६९ मा एमाले मुगुको अध्यक्ष भएका थिए।
२०७१ मा एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित बानियाँले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। दोस्रो संविधान सभाको निर्वाचनमा बानियाँ मुगुबाटै प्रत्यक्ष निर्वाचित भएका थिए। बानियाँ २०४० देखि ०४८ सम्म शिक्षक थिए।
ज्वालाकुमारी साह, कृषिमन्त्री
कृषिमन्त्री नियुक्त भएकी साह यसअघि नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रदेश–२ को प्रदेश सभामा निर्वाचित भएकी थिइन्। रामबहादुर थापा समूहकी उनी एमाले प्रवेश गरेपछि गत चैतमा उनको प्रदेश सांसद् पद गएको थियो।
माओवादी युद्धमा लागेकी साह २०६४ को संविधान सभामा समानुपातिक तर्फबाट सदस्य थिइन्। साहले २०६६ सालमा भूमिसुधार राज्यमन्त्रीले जिम्मेवारी पाएकी थिइन्। बारा स्थायी घर भएकी साहले स्नातकसम्मको अध्ययन गरेकी छन्।
नैनकला थापा, सञ्चारमन्त्री
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री थापा यसअघि महिला आयोगको अध्यक्ष भइसकेकी छन्। त्यसअघि उनी शिक्षण पेशामा आवद्ध थिइन्।
बाग्लुङमा जन्मिएकी थापाको २०४० सालमा पूर्वगृहमन्त्री रामबहादुर थापासँग विवाह भएको थियो।
नारदमुनी राना, वनमन्त्री
वनमन्त्री राना २०४३ सालदेखि राजनीतिमा सक्रिय छन्। कैलालीका राना एमालेको वडा सदस्य हुँदै केन्द्रीय सदस्यसम्म भएका छन्।
स्नातकोत्तर अध्ययन गरेका राना पहिलो संविधान सभामा निर्वाचित सदस्य थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी कैलाली–५ बाट निर्वाचित भएका हुन्।
राजकिशोर यादव, उद्योगमन्त्री
नवनियुक्त उद्योगमन्त्री यादवले २०६० सालदेखि तत्कालीन मधेशी जनअधिकारी फोरमबाट राजनीति शुरु गरेका थिए। २०६७ सालमा फोरम गणतान्त्रिक गठन गरेर आफैं अध्यक्ष भए। यादव २०७२ मा मधेश केन्द्रित दलहरूको एकीकरण हुँदा राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको सदस्य भएका थिए।
उनी सिरहा–४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् हुन्। उनी २०६४ को संविधान सभा निर्वाचनमा पनि मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए। यादव २०६८ सालमा सञ्चारमन्त्री भएका थिए। यादव सहित जसपा ठाकुर पक्षका मन्त्री संख्या ११ पुगेको छ।
आशा विक, वनराज्यमन्त्री
बझाङ स्थायी घर भएकी नवनियुक्त वनराज्यमन्त्री विकले स्नातकसम्मको अध्ययन गरेकी छन्। २०५९ सालदेखि राजनीतिमा सक्रिय विक गत प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट सांसद् भएकी हुन्।
उनी पहिलो पटक सांसद् भएकी हुन्। एमालेको जिल्ला कमिटी सदस्य हुँदै हाल अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य छन्।