प्रदेश सांसदबाट हटाएको दुई महीना नपुग्दै संघीय मन्त्री नियुक्त
प्रदेश सांसदबाट हटाएको दुई महीना नपुग्दै ज्वालाकुमारी साह संघीय मन्त्री नियुक्त भएकी छिन्।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गरेकी छिन्।
उनलाई दुई महीनाअघि नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ सभा सदस्यबाट हटाएको थियो। नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन्।
उनी पार्टीमा नफर्किएपछि माओवादीले गत ३० चैतमा साहसँगै प्रदेश २ का चार जना सांसदलाई हटाएको थियो। माओवादीको सिफारिशमा प्रदेश सभा सचिवालयले सांसदहरू साह, रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर पदमुक्त भएको घोषणा गरेको थियो।
उनी बारा ३ ‘क’बाट ११ हजार ७७१ मत लिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनका प्रतिद्वन्द्वी रमानन्दप्रसाद यादवले १० हजार १४७ मत पाएका थिए।
बाराको सिमरा उपमहानगरपालिका-१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन्। उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्।
त्यस्तै, यसअघि २०६६ मा भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन्। २०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।