स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण : १२ बिघा जग्गा, २२ तोला सुन
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मन्त्री तामाङ र उनकी पत्नी उषाकला राईको नाममा १४ कित्तामा १२ बिघा जमीन छ। उनले काठमाडौं, सिन्धुपाल्चोक र मोरङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा मन्त्री तामाङले २२ तोला सुन रहेको जनाएका छन्। यो सुनमध्ये केही पुर्ख्यौली भएको र केही खरीद गरेको उल्लेख गरेका छन्।
त्यस्तै, उनले तीन ब्यांकमा तीन लाख २७ हजार रुपैयाँ रहेको खुलाएका छन्। एभरेस्ट ब्यांकमा आफ्नो र राष्ट्रिय वाणिज्य तथा कृषि विकास ब्यांकमा पत्नी राईको खाता रहेको जनाएका छन्।
यससँगै उनीसँग विभिन्न कम्पनीको २० लाख बराबरको सेयर पनि छ। उनले आफूसँग एउटा कार र एउटा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठमा जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले मन्त्री नियुक्त भएको एक साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।