विदेशी लगानी भित्र्याउन सहज बनाइयो, अब राष्ट्र ब्यांकको पूर्व स्वीकृति लिनु नपर्ने
प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र ब्यांकको पूर्व स्वीकृति आवश्यक नपर्ने भएको छ।
नेपाल राष्ट्र ब्यांकले बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली २०७८ जारी गर्दै वैदेशिक लगानी भित्र्याउन सजिलो व्यवस्था गरेको हो। राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी लगानी परिचालनलाई सहज बनाउन विनियमावली जारी गरिएको बताए।
यसअघि, स-सानो लगानी भित्र्याउन पनि राष्ट्र ब्यांकको स्वीकृति आवश्यक पर्थ्यो। पूर्व स्वीकृति लिने व्यवस्थाले लगानीकर्तालाई झन्झट थपेको भनेर आलोचना हुँदै आएको थियो।
विनियमावलीमा विदेशी लगानी तथा विदेशी लगानीका कम्पनीले आर्जित गरेको लाभांश फिर्ता लैजान विदेशी मुद्राको सटही प्रक्रियालाई पनि केही सहज बनाएको छ।
त्यसैगरी, लगानीको लेखाङ्कन, वैदेशिक ऋण आदिको प्रक्रियामा सुधार गरिएको छ। विदेशी ऋण लिन राष्ट्र ब्यांकको पूर्व स्वीकृति आवश्यक पर्ने भए पनि आवेदन गरेको १५ दिनभित्रै स्वीकृति उपलब्ध गराइने व्यवस्था विनियमावलीले गरेको छ।
व्यवसाय गर्ने वातावरणमा सुधारका लागि राष्ट्र ब्यांकले विनियमावली निर्माण गरेको जनाएको छ।