११ पुसमा ज्येष्ठ नागरिक राष्ट्रिय दिवस
सरकारले ११ पुसमा ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ।
ज्येष्ठ नागरिकको सम्मानमा हरेक वर्ष ११ पुसमा ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्त नेम्वाङले बताए। १० जेठमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परिक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताए। यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उनको भनाइ थियो।
मन्त्री नेम्वाङले भने, “पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सिप परिक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ । कुनैपनि सेवा क्षेत्रमा प्रवेश गर्नको लागि आधारभूत दक्षता, परीक्षण र उत्तीर्णको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आमसञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको छ।”