चुरेभावर र नदी प्रणालीबाट ढुंगा, गिट्टी, बालुवा झिकिँदैन : अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले चुरे भावर र नदीबाट बालुवा, गिट्टी, ढुंगाजस्ता निर्माण सामग्री ननिकालिने जनाएको छ।
आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरिने व्यवस्थाका विषयमा व्यापक आलोचना भएपछि मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको उल्लेख गरिएको छ।
प्रेस विज्ञप्तिमा बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे, भावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा मात्रै खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको उल्लेख गरिएको छ। चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको अर्थ मन्त्रालयको भनाइ छ।
मन्त्रालयले सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्ने तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
आर्थिक वर्ष २०७८/७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने तथा निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महशुल छुट दिने व्यवस्था मिलाएको उल्लेख छ।