डा केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहिन
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति अन्त्यको माग गर्दै १८ दिनदेखि अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज भएको वार्ता पनि असफल भएको छ ।
डा केसीका मुख्य माग त्रिविका उपकुलपति तिर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन् संस्थानका डिन केपी सिंहलाई बर्खास्त गर्नुपर्ने मागमा सरकारी टोलीले असमर्थता जनाएपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।
यसअघि भएका वार्ताहरु पनि यि दुई मागमै असफल भएका थिए ।
१८ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्यस्थिति दिनप्रतिदिन नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालका आवासीय चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवाहरु ठप्प पारेका छन् ।
विभिन्न जिल्लाका स्वास्थ्यकर्मीले डा केसीका समर्थनमा आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
सरकारी चिकित्सकहरुको संस्था गोडानले सरकारलाई आज २४ दिने अल्टिमेटम दिएको छ भने चिकित्सक संघले भोलि, १५ मंसीरमा देशभरका स्वास्थ्य संस्था एक घण्टा बन्द गर्न आह्वान गरेको छ ।