स्थानीय निकायको निर्वाचन गर्न प्रमुख चार दल सहमत
संविधान कार्यान्वनयका लागि स्थानीय निकायको निर्वाचन गर्न चार राजनीतिक दल सहमत भएका छन् ।
सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठकमा चारै दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीम रावल, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपाका अध्यक्ष कमल थापा सहभागी उक्त बैठकमा सबै राजनीतिक दलले निर्वाचन जान तयार रहेको धारणा ब्यक्त गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।
स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउन ढिलो हुने वा कानुन अपुग भएका अवस्थामा पुरानै संरचनाअनुसार निर्वाचनमा जान एमाले तयार भएको उनले बताए ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री हरहालतमा निर्वाचनमा जान सहमति बनाउने पक्षमा रहेको र सोही उद्देश्यले बोलाइएको आजको बैठकमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलका नेताले समर्थन जनाएको बताए ।
सरकारले स्थानीय निकायको निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता गर्ने तयारी गरेको छ । त्यस विषयमा मधेशी मोर्चासँग भोलि छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पुनःसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने र निर्वाचनमा जाने भन्ने विषयमा एमालेको विमति नभएको आफूहरुले बताएको जानकारी दिए ।
उनले भने, “स्थानीय निकाय वा अन्य निकायको निर्वाचन सबैमा जान एमाले तम्तयार छ ।”
स्थानीय निकायको निर्वाचनमा जानुपर्छ भन्ने विषयमा सबै राजनीतिक दल सहमत भएको बैठकमा सहभागी काँग्रेस नेता डा रामशरण महतले जानकारी दिए ।
स्थानीय तह वा निकाय जुनसुकै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ थियो ।
रासस