एक वर्षमा ७२० किमी कालोपत्रे सडक थपियो
एक वर्षको अवधिमा ७२० किलाेमिटर कालोपत्रे सडकको निर्माण भएको तथ्यांकले देखाएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार, गत फागुनसम्ममा देशभरिमा संघीय सरकारमार्फत् १५ हजार ९७४ किमी कालोपत्रे सडकको विस्तार भएको छ। २०७६ फागुनसम्ममा १५ हजार २५४ किमी थियो। यस हिसाबले दैनिक २ किमीका दरले कालोपत्रे सडकको निर्माण भइरहेको देखिएको छ।
संघीय सरकारमार्फत् गत फागुनसम्ममा ८ हजार ५८२ किमी ग्राभेल र ८ हजार ९७२ किमी कच्ची सडक निर्माण भएको छ।
चालू आर्थिक वर्षको आठ महीनामा ५०४ किमी ग्राभेल र २८४ किमी कच्ची सडक निर्माण भएको छ। चालू आर्थिक वर्षको साउन–फागुनमा १२९ वटा पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । जुन अघिल्लो वर्षको यही अवधिमा २१० वटा थियो।
मुलुकभरिमा गत फागुनसम्ममा प्रदेश र स्थानीय स्तरबाट निर्माण भएका कूल सडकको लम्बाई ६३ हजार ५७७ किमी पुगेको छ । यसमध्ये ४ हजार २७४ किमी कालोपत्रे छ।