लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का
गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा पछिल्लो २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसूस गरिएको छ।
मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएयता आज बिहान ५ः५१ बजेसम्म ८६ पटक भूकम्पको धक्का महसूस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यस अवधिमा ४ म्याग्निच्यूडभन्दा ठूला ६ वटा र साना ८२ वटा भूकम्पका धक्का गएका छन्।
केन्द्रका अनुसार, ४ भन्दा माथि बुधबार बिहान ५ः४२ बजे ५ः८ म्याग्निच्यूड, ८ः१६ बजे ४ म्याग्निच्यूड, ८ः१७ बजे ४.१ म्याग्निच्यूड, ८ः२६ बजे ५.३ म्याग्निच्यूड, राति ९ः२३ बजे ४ म्याग्निच्यूड र १०ः३९ बजे ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो। आज बिहान ५ः५१ बजे पनि ३.२ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
यसरी पटकपटक भूकम्प जाँदा स्थानीय त्रसित बनेका छन्। बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनेका जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो। कतिपय स्थानीयबासी रातभरि घरबाहिर नै सुते भने कति नसुती भित्र–बाहिर गरिरहे।
जिल्लामा भूकम्प जाँदा सहज रूपमा बाहिर बस्न सक्ने स्थिति समेत थिएन। रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयको भनाइ छ।
सबै सँगसँगै यताउता गर्दा कोरोना संक्रमणको पनि जोखिम कारण मन आत्तिएको बेँसीशहर नगरपालिका–८ की सिर्जना श्रेष्ठले बताइन्। उनले भनिन्, “कोरोनाको यस्तो जोखिम मोलेर पनि भूकम्प आउँदा बाहिर निस्किएर अन्य स्थानीयवासी भएकै ठाउँमा गएर बस्ने र भूकम्प धक्का कम भएपछि घरभित्र गर्ने गरेर राति बिताइयो।”
भूकम्पले लमजुङमा ६ जना घाइते भएका छन् भने २०० घरमा क्षति पुगेको छ। भूकम्प पटकपटक आउँदा झन् त्रास बढेको स्थानीय बताउँछन्।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिनका साथ भन्न सक्ने अवस्था नभएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबै जना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए। उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिन आग्रह गरे। (रासस)