१७ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनीमा दुई जनाको उम्मेदवारी
१७ जेठमा तय भएको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशबाट दुई जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
लुम्बिनी प्रदेश सभामा नेकपा एमालेको सांसद रहेका पाण्डे केही दिनअघि राजीनामा गरेर नेपाली कांग्रेस प्रवेश गरेका थिए। त्यस लगत्तै लुम्बिनी सरकारमा प्रतिपक्षमा रहेका दलहरूले उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेका थिए।
त्यस्तै, माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचन जितेका खड्काले सर्वोच्च अदालतको आदेशपछि नेकपाबाट एकीकरणपूर्वको माओवादी केन्द्र र एमालेका रूपमा ब्युँतिएपछि एमाले रोजेका थिए।
माओवादी केन्द्रले दल त्याग गरेको भन्दै खड्कालाई राष्ट्रिय सभा सदस्य नरहने गरी पदमुक्त गरेको थियो। त्यसरी रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा अहिले उपनिर्वाचन हुन लागेको हो। एमालेले माओवादी केन्द्रबाट पार्टी त्याग गरेर आफ्नो पार्टीमा आएका खड्कालाई उम्मेदवार बनाएको हो।