राप्रपाले रामबहादुर थापालाई भोट दिने
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामबहादुर थापालाई भोट दिने भएको छ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोट मागेपछि थापालाई मतदान गर्ने निर्णय भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। “एमाले अध्यक्षले पत्र लेखेरै भोट मागेपछि रामबहादुर थापालाई भोट दिने निर्णय गरेका हौं,” श्रेष्ठले भने।
राप्रपाका ४ जना मतदाता रहेका छन्। बागमती प्रदेश सभामा २ सदस्य छन् भने धादिङको रुबिभ्याली गाउँपालिका अध्यक्ष र उपाध्यक्ष रहेका छन्।
राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेश सभामा ६ जेठमा उपनिर्वाचन हुँदै छ। एमालेले थापालाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।