‘निषेधाज्ञामा पनि ४१ प्रतिशत आवतजावत जारी’
कोभिड–१९ लक्षित निषेधाज्ञाका बेला पनि ४१ प्रतिशत आवतजावत जारी रहेको भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, निषेधाज्ञामा ५९ प्रतिशत आवतजावत रोकिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा सोमबार जारी सूचनामा भनिएको छ, “अध्ययनहरूले अझै पनि स्वास्थ्यका मापदण्डहरू पालना नभएको र निषेधाज्ञाको समयमा पनि मानिसहरूको आवतजावत ५९ प्रतिशतले मात्रै कमी भइरहेको पाइएको छ।”
निषेधाज्ञामा औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्य सामग्री खरीद गर्न अनुमति दिइएको छ। त्यस्तै, विवाह–व्रतबन्धमा बढीमा १० जना सहभागी हुन पाउने व्यवस्था गरिएकाे छ।
अहिलेसम्म ७४ जिल्लामा निषेधाज्ञा लगाइएकाे छ। मनाङ, खोटाङ र तेह्रथुममा भने निषेधाज्ञा लगाइएकाे छैन।