महामारीकै बीच विदेश पढ्न जाने नेपाली विद्यार्थीले लगे २१ अर्ब
चालू आर्थिक वर्षको पहिलो नौ महीना (चैतसम्म)मा वैदेशिक अध्ययनका लागि रू. २१ अर्ब ७ करोड विदेशिएको छ।
नेपाल राष्ट्र ब्यांकको तथ्यांक अनुसार, महामारीकै बीचमा पनि वैदेशिक रोजगारीमा जाने नेपाली विद्यार्थीले ठूलो परिमाणमा विदेशी मुद्रा सटही गरेर रकम विदेश लगेका हुन्। यद्यपि, अघिल्लो वर्षका तुलनामा वैदेशिक अध्ययन बापत विदेशिने कुल रकम भने घटेको छ। गत आर्थिक वर्ष २०७६/७७ को पहिलो नौ महीनामा नेपालबाट वैदेशिक अध्ययनका लागि रू.२४ अर्ब ६० करोड विदेश पुगेको थियो।
पछिल्ला वर्षहरूमा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा ठूलो रकम विदेशिइरहेको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा रू.४६ अर्ब ३२ करोड विदेश पुगेको थियो।
यो आर्थिक वर्षको चैतसम्ममा विदेश भ्रमणमा जाने (वैदेशिक अध्ययनसहित) नेपालीले रू.२६ अर्ब ७५ करोड खर्च गरेका छन्। यो गत आर्थिक वर्षको तुलनामा ४७ प्रतिशत थोरै हो। महामारीका कारण वैदेशिक यात्राको क्रम घटेकाले यस्तोमा हुने खर्च रकम पनि घटेको हो।
यो अवधिमा अन्तर्राष्ट्रिय हवाई यात्रामा हुने खर्च, यातायात शीर्षकमा रू.५७ अर्ब ६० करोड खर्च भएको छ। यो गत वर्षको यही समयका तुलनामा ५ प्रतिशत धेरै हो।
यो वर्ष महामारीका कारण वैदेशिक पर्यटकबाट भित्रिने रकम भने ह्वात्तै घटेको छ। राष्ट्र ब्यांकका अनुसार, चैतसम्ममा रू.५ अर्ब ५४ करोड मात्रै पर्यटन आय भएको छ, जुन गत वर्षको यही अवधिका तुलनामा ९० प्रतिशत थोरै हो। गत आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा रू.५६ अर्ब ६७ करोड यस्तो आय भएको थियो।