अस्पताल र अक्सिजन उद्योगमा बिजुली जान नदिन प्राधिकरणले मिलायो व्यवस्था
नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरू र अस्पतालहरूलाई चौबीसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको जनाएको छ।
प्राधिकरणले अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरूलाई अधिकतम सतर्क सूचीमा वर्गीकृत गरेर विद्युत् आपूर्तिमा समस्या हुन नदिने प्रबन्ध गरेको हो। अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ध्यानमा राख्दै विद्युत् निर्बाध आपूर्तिका लागि वैकल्पिक फिडर समेत तयार गरिएको प्राधिकरणले जनाएको छ। अक्सिजन उद्योगहरू रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगर लगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरू जडान गरिएको हो।
कोभिड-१९ को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरूमा विद्युत् आपूर्ति हुने फिडरहरूको पहिचान गरी समस्या आउन नदिने गरी आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरूलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले सोही अनुसार प्रबन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
प्राधिकरणले अक्सिजन उद्योग तथा अस्पतालहरूमा निर्बाध विद्युत् आपूर्तिका लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरेको छ। त्यसैगरी, विद्युत् आपूर्ति गर्न वितरण केन्द्रका नोलाइट फाँटहरूमा चौबीसै घण्टा ड्युटीको व्यवस्था मिलाइएको पनि जनाइएको छ।
“अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित् समस्या आएमा त्यसको तत्काल जानकारी दिन द्रुत रेस्पोन्स प्रणाली सञ्चालनमा ल्याइएको छ,” शाक्यले भने।