अक्सिजनको सहज आपूर्ति गर्न हटलाइन मोबाइल सेवा
कोभिड–१९ अस्पतालहरूमा अक्सिजनको सहज आपूर्ति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन मोबाइल सेवाको व्यवस्था गरेको छ।
अक्सिजन आपूर्तिलाई सहज बनाउन चाैबीसै घण्टा समन्वय गर्नेगरी दुइटा टोली बनाएर हटलाइन मोबाइल सेवाको व्यवस्था गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। एउटा समूहमा डा. प्रकाशप्रसाद साह, महेश पाण्डे र डा. सुवास राउत तथा अर्को समूहमा डा. रोशन न्यौपाने, सानुबाबु अधिकारी र डा. प्रधुम्मन चौहानलाई राखिएको छ।
उनीहरूले कोभिड–१९ अस्पतालमा अक्सिजनको सहज व्यवस्थापन गर्न समन्वय गर्ने सहप्रवक्ता डा.अधिकारीले बताए। यसका लागि मोबाइल नं. ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।