खिमलाल देवकोटाले उपनिर्वाचनमा उम्मेदवारी फिर्ता नलिने
राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने भएका छन्।
नेकपा (एमाले)मा प्रवेश गरेका रामबहादुर थापालाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा ६ जेठमा निर्वाचन हुँदै छ। यसमा एमालेका तर्फबाट थापा तथा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट देवकोटाले उम्मेदवारी दिएका छन्। तर, नेपाल पक्ष र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार सहमति बनेको छ।
डा. देवकोटा एमाले वरिष्ठ नेता नेपाल निकट मानिन्छन्। अब उम्मेदवारी फिर्ता लिने भन्ने चर्चा चलिरहेका बेला डा. देवकोटाले चुनाव लड्ने बताएका हुन्।
उनले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ता नलिने बनाएका छन्। “मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो,” डा. देवकोटाले भनेका छन्।
खिमलाल देवकोटाको विज्ञप्ति :
२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रमपछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरूले मेरो उम्मेदवारीप्रति जिज्ञासा राख्नु स्वाभाविक नै हो। मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरू विभाजित हुनु हुँदैन।
राजनीतिक पार्टी नीति, विधि र पद्धतिमा चल्नुपर्दछ। यसमा विवाद हुनसक्दैन। तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो।
निष्ठा र इमानदारीको राजनीतिप्रति मेरो गहिरो लगाव छ। राजनीतिक दलहरूले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु। संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरू बिनाव्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु। मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ।
नेकपा (एमाले)का नेता कार्यकर्ता लगायत सबै राजनीतिक दलहरूले मप्रति पूर्ण विश्वास र सद्भाव राख्नुभएको अवस्थामा मेरो उम्मेदवारीप्रति म प्रतिबद्ध छु। तसर्थ सबै मतदाताहरूमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिह्न कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु।
हार्दिक कृतज्ञतासहित।
डा. खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार,
बागमती प्रदेश।