केपी ओली फेरि प्रधानमन्त्री नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शुक्रबार दिउँसो साढे दुई बजे हुँदैछ।
बहुमतको सरकार गठनको प्रयास असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। यसरी नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्दछ।
२७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएको चार दिनमै ओली पुन: प्रधानमन्त्री नियुक्त भएका हुन्।
ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन दाबी पेश गर्न बिहीबार (३० वैशाख) राति ९ बजेसम्मको समय दिएकी थिइन्।
तर, उक्त अवधिभित्र कसैको पनि दाबी पेश नभएपछि संविधानको धारा ७६ (३) बमोजिम ओली प्रधानमन्त्री नियुक्त भएका हुन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग ओली पक्षको सहमतिपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनले बहुमत पुर्याउन सकेन। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको समर्थन पाए पनि यो गठबन्धनलाई महन्थ ठाकुर पक्षले भने समर्थन गरेको थिएन।