अक्सिजन नपाएर ज्यान जानु सरकारको गम्भीर लापरवाही : पूर्वस्वास्थ्यमन्त्री बोहरा
पूर्वस्वास्थ्यमन्त्री एवं राप्रपा वरिष्ठ नेता दीपक बोहराले अक्सिजन नपाएर नागरिकको ज्यान जाने अवस्था आउनु सरकारको गम्भीर लापरवाही भएको बताएका छन्।
उनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी अक्सिजन नपाएर गएराति रुपन्देहीको बुटवलमा पाँच र सिद्धार्थनगरमा चार जनाको ज्यान गएको खबरले मर्माहत भएको जनाएका छन्। यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वस्वास्थ्यमन्त्री बोहराले भनेका छन्, “यो सरकारको गम्भीर लापरवाहीको परिणाम हो।”
कोरोनाको दोस्रो लहरको भयावह स्थितिमा सरकारले काम गर्न नसकेको उनको भनाइ छ। “अक्सिजनको पर्याप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नयाँ बिरामी लिन नसक्ने जस्तो सूचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवारी हो,” बोहराले भनेका छन्।
बुटवल र सिद्धार्थनगरमा भएका घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरेका छन्। त्यस्तै, सबैलाई सतर्कता अपनाउन पनि बोहराले आग्रह गरेका छन्।