जेठ २ मा फर्किए एकता गर्न समस्या छैन : नेता पन्त
नेकपा (एमाले) नेता रघुजी पन्तले २ जेठमा फर्किएपछि एकता गर्नका लागि आफूहरू तयार रहेको बताएका छन्।
एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएपछि प्रतिक्रिया दिँदै नेता पन्तले भने, “तलदेखि माथिसम्म जेठ २ गतेमा फर्काएपछि एकता गर्न कुनै समस्या छैन।”
उनले २३ फागुनको सर्वोच्च अदालतको फैसलाले एमालेलाई पुरानै अवस्थामा फर्काएको बताए। त्यही अनुसार माओवादीसँग एकीकरण हुनुअघिको अवस्थामा फर्किनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले जिल्लादेखि केन्द्रसम्मका कमिटीमा फेरबदल गरेका छन्। त्यस्तै, नेपाल समूहका पदाधिकारीको जिम्मेवारी खोसेका छन्। यी सबै निर्णय बदर गरेर पहिलेकै अवस्थामा फर्किएपछि मात्रै एमाले एकता हुने नेता पन्तले बताए।